images

तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे

काठमाडाैँ- तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेका छन्।

शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनामा परी घाइते नागरिकहरूलाई भेट्न नेपाल आएकी राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरूको अवस्था बुझ्ने क्रममा भेट गरेका हुन्।

भेटमा लेखले दुर्घटनालगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडोभन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताएका थिए भने राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिएकी थिइन्।

बिरामीहरूको उपचार राम्रोसँग भइरहेको र केही घाइतेबाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताए।

उनले त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरूको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिए।

यसअघि हिजो पोखराबाट काठमाडौं आउने क्रममा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना भएको थियो ।

त्यहाँ सवारमध्ये २७ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ । उनीहरू सबैको शव परीक्षणको क्रममा चितवनमा छ ।

उनी घाइतेहरूलाई भेटेर शव लिएर फर्किनेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको अवस्था बुझ्न र मृतकहरूको शव लिन भनेर पठाएकी हुन् ।