images
images
images

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ। कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। हालसम्म कोषबाट ८४ हजार छ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन्।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु छ करोड ७४ लाख ९२ हजार दुई सय ६२, आश्रित परिवार सुरक्षा योजनाबापत रु सात करोड ९६ लाख ७६ हजार दुई सय २६ र वृद्धावस्था सुरक्षा योजनाबाट रु चार अर्ब नौ करोड ५८ लाख ३३ हजार तीन सय ९९ भुक्तानी गरिएको कोषले जनाएको छ।

कोषमा हालसम्म रु ३५ अर्ब १० करोड योगदान रकम सङ्कलन भइसकेको छ। कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन्। अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ।

कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र पाँच लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन्। सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो।