images

आठ संसदीय समितिको बैठक आज

काठमाडौं – आठवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। केहीबेरमा बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा तयारी पोसाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिसँग छलफल हुनेछ।

यस्तै हस्तकला क्षेत्रका नीतिगत समस्या सम्बन्धमा नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यो आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेश गरी त्यसमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्यविधि पारित गर्ने र समितिको वार्षिक कार्यतालिकाका विषयमा छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।