images

कांग्रेस केन्द्रीय समिति बैठक आज २ बजे

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज अपराहन्न २ बजेदेखि बस्ने भएको हो ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेस गरेको प्रस्तावबारे विवाद भएपछि आजको लागि बैठक बोलाइएको छ । यसअघि शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ । सभापति देउवाले अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ ।

निर्वाचनपूर्व गठबन्धन गर्नै नहुने र नेताहरूको जिम्मेवारीको समय सीमा तोक्ने महामन्त्रीद्वयको प्रयास मध्यमार्गी विकल्पमा सल्टाउन कांग्रेसभित्र करिब–करिब सहमति जुटेको छ । याेसँगै गठबन्धनलाई रणनीति बनाउन र एक्जिट पोलिसीलाई संविधान संशोधनको मुद्दा बनाउने गरी केन्द्रीय समिति बैठकबाट निर्णय लिने तयारी भएको छ । कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएकोे २५औँ दिनमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच मध्यमार्गी विकल्पको खोजीबारे सहमति बनेको हो ।

आइतबार बस्ने केन्द्रीय समिति बैठक अगाडि पदाधिकारी तहमा थप छलफल गरेर निर्णयलाई अन्तिम रूप दिने तयारी छ । प्रवक्ता डा. प्रकाशशरण महतले केही असहमतिका विषयमा अधिकतम सहमतिको प्रयास भएको र आइतबार सर्वसम्मतिले निर्णय लिइने बताए । ‘सबै एजेण्डाका विषयमा पदाधिकारी तहमा छलफल भइरहेका छन् । आइतबारको केन्द्रीय समिति बैठकले सहमतिबाटै निर्णय लिनेछ र बैठक समापन हुनेछ,’ उनले भने ।

संशोधनको विषय प्रवेश हुँदा छलफलको विषय बनाउन नेताहरू सहमति नजिक छन् । ‘आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन संगठन सुदृढीकरण अभियान अघि बढाउने र रूखमै भोट हाल्ने अवस्थाको सुनिश्चितता गर्ने,’ निर्णयमा राख्ने भाषाका विषयमा नेताहरूबीचको छलफलबारे स्रोतले भन्यो, ‘निरन्तरको छलफलबाट असहमतिको दूरी साँघुरिएको छ ।

यही सेरोफेरोमा भाषा मिलाएर बैठकअघि अन्तिम रूप दिन शीर्ष नेताहरू सकारात्मक हुनुहुन्छ । एक्जिट पोलिसीको विषय संविधान संशोधनबारे छलफलका क्रममा बहसमा लैजाने गरी निर्णय गर्न नेताहरू सहमत हुनुहुन्छ ।’ महामन्त्रीद्वयको प्रस्तावमा सहमति जुटाउन सभापति देउवाले शृंखलाबद्ध प्रयास गरिरहेका छन् । गत २३ साउनबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक ११ एजेण्डामाथि केन्द्रित छ ।