दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौ – गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउनुभएको छ ।
आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले देशका सबैभन्दा ठुला राजनीतिक दल मिलेर समीकरण बनाएको बताउनुभयो ।
“मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ”, मन्त्री लेखकले भन्नुभयो, “देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।”
उहाँले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताउनुभयो । त्यसैगरी उहाँले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताउनुभयो ।
नेपाल–भारत सिमानामा रहेकोे बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उहाँको भनाइ छ । त्यसैगरी उहाँले बेलौरी र पुनर्वासमा रहेका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । रासस