images

कांग्रेसका सांसद रामहरी खतिवडा द्वारा मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

उनले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गरे। उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरे।

उनले भने, ‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ। यो के हो? योबारे कसले जवाफ दिनुपर्ने हो? यसको जवाफ हामी खोज्न चाहन्छौँ। मन्त्रीको पद पैसामा बिक्री गर्न सुरुवात गरेको हो कि होइन? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस्।’

उनले थपे, ‘म सत्तारुढ पक्षकै सांसद हुँ। तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस्। अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला। तर मन्त्रीहरुले चाहिँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस्। सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस्।’