जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

दमौली (तनहुँ), १९ भदौ – जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ ।

आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उहाँले बताउनुभयो । दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो । उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो ।