images

काठमाडौँ अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुक्रबारदेखि

काठमाडौँ, १९ भदौ – कलामार्फत अन्तरदेशीयसम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘काठमाडौँ अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुँदैछ । बौद्धस्थित तारागाउँ म्युजियममा शुक्रबार हुन लागेको उक्त प्रदर्शनीमा १० विदेशी कलाकार र १२ नेपाली कलाकारले सिर्जना गरेका चित्रकला एक साथ देख्न सकिन्छ ।

प्रदर्शनीका संयोजक एवं कलाकार रोशन प्रधानका अनुसार कलाले सम्बन्ध सुमधुर र प्रगाढ बनाउन मद्दत गर्ने हुँदा विदेशी कलाकारको सहभागितामा जोड दिएको बताउनुभयो । भारत, अमेरिका, कोरिया, जापान, फिलिपिन्स, थाइल्यान्ड र भुटानका कलाकार सहभागी हुन लागेको प्रधानले जानकारी दिनुभयो ।

“कला प्रदर्शनी र पर्यटन प्रवद्र्धन दुवै उद्देश्य एकसाथ पूरा हुन्छ”, उहाँले भन्नुभयो, “विदेशी कलाकार घुमफिर गरेसँगै यहाँको सांस्कृतिक र प्राकृतिक दृश्यसमेत कलामा उतार्न सघाउ पुग्छ ।”

अन्तर्राष्ट्रिय रुपमा चित्रकला प्रदर्शनी नेपालमा गर्दा उहाँले एउटा नेपाली कला संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटनको आर्कषण बढाउन सकिने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा कलाकारले आ–आफ्नो दृष्टिकोण र सिर्जना क्यानभासमा प्रस्तुत गर्नुहुनेछ ।

प्रदर्शनीमा विधाता केसी, प्रतिमा माखिम, कपिलमणि दीक्षित, मनिषलाल श्रेष्ठ, प्रधुम्न श्रेष्ठ, डा प्रकाश किशोर, पृथ्वी श्रेष्ठ, रोशन भण्डारी, रोशन मिश्र, डा सुबोध सागर ढकाल लगायतका चित्र राखिने छन् ।