ओलीले समाजवादको भाष्य बिगारेको महासचिव भुसालको आरोप

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाएका छन् ।

हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताए ।

उनले भने, ‘पछिल्लो दुई वर्षमा पपुलिजमले हाम्रो समाजवाद बिगार्‍यो । व्यक्तिगत दोषारोपण पनि सुनिनसक्छ । हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो। चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो।’

पूर्वकृषिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर निकै कम  चिन्तन हुने गरेको बताए। उद्यम नगर्ने तर मुनाफा खोजीरहने प्रवृत्तिको अन्त्य नभएसम्म समाजवाद हासिल नहुने बताए।

उनले ४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलका बीचमा राष्ट्रिय सहमति हुने गरेको पनि आरोप पनि लगाएका छन् ।

र्थविद्  प्राध्यापक अच्युत वाग्लेले  अर्थतन्त्रका विषयमा राजनीतिक दलहरुमा निकै कम विमर्श हुने गरेको बताउँदै अर्थतन्त्रबारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिइनुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीले नेपालको आर्थिक नीति निर्माण प्रक्रियाप्रति प्रश्न उठाइन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक सार्वजनिक कार्यक्रममा लेखक रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक तयार पारेको बताए।