कर्मचारीलाई मुख्यमन्त्री पाण्डेको निर्देशनः जनताको काम छाडेर अधिकार भन्दै नहिँड्नुुस्

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर अधिकारका भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन्। जनताको सेवालाई प्राथमिकता दिनुपर्ने उनले बताए।

कर्मचारीको वृत्ति विकास र अधिकारका सवालमा सरकार सचेत रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो।

‘कार्यलय समयमा कर्मचारी भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने होइन। कार्यलय समयमा तपाइहरु हिँड्दा आफ्नो अधिकारको कुरा गर्दा जनतालाई सेवा कसले दिन्छ रु जनताको सेवा प्रभावित हुन भएन’, निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले भने।

प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्ने विषय लिएर दैनिक जसो कर्मचारी, ट्रेड युनियनकर्मी समूह बनाएर मुख्यमन्त्री कार्यालयमा आउने गरेकोमा मुख्यमन्त्री पाण्डेले असन्तोष व्यक्त गरे। आफ्ना मुद्धा बोकेर हिँड्दा समयको ख्याल गर्न उनको सुझाव छ। कर्मचारीको साझा मुद्धामा केन्द्रित भएर सरकारलाई सुझाव दिन अनुरोध गरे।

‘कर्मचारीका मुद्धा उठाएर क्रेडिट लिने भन्दा दिगो समाधानका लागि सरकारलाई सहयोग गर्नुहोस्’ मुख्यमन्त्री पाण्डेले थपे, ‘सरकार वाँधिएर सबै माग एकै पटक पुरा गर्ने स्थित रहँदैन।’

मुख्यमन्त्री पाण्डेले थपे, ‘सरकारको प्रतिनिधि कर्मचारी हो। तपाईहरुले दिने सेवाबाट नागरिकले सरकार कस्तो छ ? सेवा कस्तो छ भन्ने अनुभूति गर्छन। मूल्याङकन गर्छन।’ जनताको काम सहज रुपमा गर्न उनको आग्रह थियो।