प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छः प्रचण्ड

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गर्दै प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको तर्क गरे ।

‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’, उनले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

आफूहरू शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रूपमा जारी रहने बताएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पुँजीपति र नोकरशाहीहरूले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौँ, अब राजनीति त्यतै जाँदैछ । दलाल पुँजीपति र नोकरशाहीहरूसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’

विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा आफूहरू बलियो भएकाले संघर्षमा विजय प्राप्त गरेरै छाड्ने प्रचण्डको दाबी छ ।