काठमाडौं- नेपाली कांग्रेसले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशागोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी खेलाडी भरतसिंह महतलाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेका हुन्।
सम्मान गर्दै उनले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताए । उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे।
उनले भने,’ पलेशा गोवर्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनु भयो। नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ। खेलकुद क्षेत्रको विकासका लागि नेपाली काँग्रेस सदैव सहयोग गरिरहेको छ। खेलाडीहरु राष्ट्रका गहना हुन्। नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ।’