काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकारको कामलाई प्रभावकारी बनाएर जाने निर्णय गरेको हो ।
बैठकपछि सत्तारुढ दलको मुख्य सचेतक महेश बर्तौलाले संसद् र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । उनले भने, ‘सरकार र संसदको कामलाई कसरी अगाडि बढाउने, कसरी सन्तुलित, व्यवस्थित ढंगबाट अगाडि बढाउने र सरकारका समग्र कामहरुमा सत्ता पक्ष कसरी एकीकृत धारणाका साथ अगाडि बढ्ने विषयमा बैठकमा छलफल भयो ।’
यस्तै बैठकमा गठबन्धनलाई एकताबद्ध बनाउनेबारे छलफल भएको जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको भावना विपरीत नबोल्ने बताएका छन् ।
सत्तारुढ दलहरूले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने समझदारी पनि गरेका छन् । कांग्रेस-एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन गर्न प्रमुख राजनीतिक दल र सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै अघि बढाउने दलहरूबीच समझदारी भएको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासीन कांग्रेस र एमाले तथा सरकारलाई समर्थन गर्ने दलहरूसमेतको बैठकले संविधान संशोधनलाई प्राथमिकतामा राखेर छलफल गरेको हो ।
बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले सत्तारुढ दलको बैठक संविधान संशोधन गर्ने विषयमा केन्द्रित भएको जानकारी दिइन् । ‘संविधान संशाधेन गर्न सबै दलसँग बृहत् छलफल गर्ने कुरा भएको छ । सबै दलको विचार विमर्श बुझेर संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्याउन बैठक केन्द्रीत रह्यो,’ उनले भनिन्, ‘संविधान जारी हुँदा धेरै पक्ष असन्तुष्ट थिए । ती असन्तुष्टिलाई सम्बोन गरी अझै राम्रो संविधान बनाउनुपर्छ भन्ने जोड रह्यो ।’
उनले राजनीतिक दल र असन्तुष्ट पक्षसँग छलफल गरी अघि बढ्ने निष्कर्षमा सत्तारुढ दल पुगेको बताइन् । यसका साथै सरकारलाई बलियो र कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले जोड दिएका थिए ।
प्रतिपक्ष दलहरु माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले सरकारको चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलले सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका हुन् । ‘सरकारलाई कसरी बलियो बनाएर अघि जान सकिन्छ । सरकारले गर्ने कामलाई अझै प्रभावकारी बनाउन पनि छलफल भयो,’ उनले भनिन् ।
सत्तारुढ दलले सत्तापक्षको बैठक हरेक साता गर्ने निर्णय पनि गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको थियो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । सरकार गठन भएको लामो समय बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्न थालेपछि कांग्रेस–एमालेले बल्ल न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न लागेका हुन् ।