ओलीलाई बालेनको प्रश्न- अघिल्लो कार्यकालमा किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नदी किनारको २० मिटर जग्गाबारेको फैसलामा सरकार ‘भ्याकेट’ मा जाने बताएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले त्यसको कटाक्ष गरेका छन्।

ओलीका अघिल्लो कार्यकालकै समयमा अदालत पुगेको मुद्दालाई तत्कालीन समयमा सहमति जनाउँदै अहिले के प्रायोजनका लागि पुनरावेदन गर्ने मन भयो भनी बालेनले प्रधानमन्त्री ओलीमाथि प्रश्नसमेत गरेका छन्।

‘हामीले खोज्ने जवाफ यति हो। त्यो बेला किन पुनरावेदनमा गएनन्? कि भन्न पर्यो। त्यो बेला हाम्रो बुद्धि पुगेन। या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ। उहिल्यै मरिन् सासु, अहिले आए आँसु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ।’ सामाजिक सञ्जाल फेसबुकमा बालेन लेख्छन्।

काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि सरकार चाँडै पुनरावलोकन (भ्याकेट)  जाने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका थिए।

प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उपत्यका सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै यस विषयमा भ्याकेटमा जाने बताएका हुन्।

सर्वोच्चको फैसला र काठमाडौं महानगरपालिकाले गरेको सोको कार्यान्वयनप्रति यतिबेला सडकदेखि सदनसम्म चर्को आलोचना भइरहेको छ।

मेयर साहले पनि सोही कुरालाई स्पष्टीकरण दिँदै फैसला आफ्नो कार्यकालमा  भएको भएपनि  मुद्दा काठमाडौं महानगरको मेयर विद्यासुन्दर शाक्य र प्रधानमन्त्री स्वयम् ओली रहेको बेला भएको बताएका हुन्। उनले यसअघि पनि नयाँ मापदण्डमा पर्ने घर नभत्किएको भन्दै सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिएका थिए।