बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा सेवा पाउनुपर्छ : सांसद पोखरेल

काठमाडौं सांसद ऋषिकेश पोखरेल स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फतदेशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

‘हरेक पालिकाको स्वास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाइदिनुपर्‍यो भन्दै आएका छन्, स्वास्थ्य बीमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ’, सांसद पोख्रेलले भने । 

सांसद हितराज पाण्डे र मनिष झाले पूर्वसभामुख स्व सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानबारे संसद्‌मा स्मरण गरे। 

सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रुपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानुनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिए । 

सांसद डा अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा सङ्घले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए।