हिंसा शब्दमा सदनमा फेरि चल्यो दोहोरी

काठमाडौं : हिंसा शब्दका विषयमा बुधबार पनि प्रतिनिधिसभा बैठकमा सांसदहरूबीच दोहोरी चलेको छ ।

भदौ १२ गतेको संसद्‌ बैठकमा एमाले सांसद योगेश कुमार भट्टराईले बोलेको हिंसा शब्दलाई रेकर्डबाट हटाउन नसकिने भनी सभामुख देवराज घिमिरेले बताउनासाथ​माओवादी सांसदले आपत्ति जनाए।

‘२०८१ भदौ १२ गते योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गरेको सो शब्द असंसदीय रहेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितले विषय उठाएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको को व्यवस्था, भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयलको रायका आधारमा विषय प्रसंग र प्रस्तुतीलाई विचार गर्दा हिंसा भन्ने शब्द असंसदीय नदेखिएका कारण रेकर्डबाट हटाउनुनपर्ने व्यहोरा जानकारी गराउँछु।’ सभामुख घिमिरेले भने।

पछिल्लो कतिपय अवस्थामा प्रतीकात्मक रुपमा शब्दहरु प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेको पाइएको भन्दै  शब्द चयनमा ख्याल गर्न सांसदहरुलाई सभामुखले रुलिङ गरेका छन्।

त्यसलगत्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जानाउँदै असहमति प्रकट गरी समय मागेर बोले।

त्यसपछि एमाले सांसद रघुजी पन्तले सभामुखले रुलिङ गरेपछि प्रतिवाद गर्न मिल्दैन भनेपछि एमाले र माओवादी सांसदबीच आरोपप्रत्यारोप भयो।

प्रतिपक्षी र सत्तापक्षबीच अहिले यही विषयमा बहस चलिरहेको छ।