पर्वत : पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भारतको उत्तर प्रदेशस्थित लखनउ घर भएका २३ वर्षीय देवान सिंहको मृत्यु भएको हो।
बुधबार दिउँसो करिब साढे एक बजेको समयमा पोखरा महानगरपालिका–१७ पावर हाउसस्थित रिसोर्टको स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो।
पोखरा भ्रमणमा आएका उनी अचानक पानीमा डुबेको र नजिकै रहेका साथीले देखेर तत्कालै पानीबाट बाहिर निकालिएको थियो। लगत्तै उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा अपराह्न करिब चार बजेको समयमा उनको मृत्यु भएको हो।
मृतक सिंहको शवको मणिपाल शिक्षण अस्पतालमा पोस्टमार्टमपश्चात उनका बुबा रुकमेन्द्र प्रताब सिंहलाई जिम्मा लगाइएको छ। रुकमेन्द्रले छोराको शव भारततर्फ लैजाँदै गरेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।