राजश्व चुहावट र सीमा अपराध रोक्न सशस्त्रको भूमिका प्रशंसनीय : गृहसचिव

काठमाडौँ – गृहसचिव गोकर्णमणि दुवाडीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको स्वयम्भूको निरीक्षण भ्रमण गरी सेवा प्रवाहका बारेमा जानकारी लिएका छन्।

उनले सशस्त्र प्रहरी बल, नेपालले स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको र देशमा शान्ति सुरक्षा, सुव्यवस्था तथा अमनचयन कायम गर्न सदैब क्रियाशील रहेको बताए।

गृहसचिव दुवाडीले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूत दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताए।

सशस्त्र प्रहरी बल नेपालमा श्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरुको सेवा, सुविधा र वृतिविकासमा मन्त्रालयको सदैव साथ रहने बताउँदै उनले राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिता र जवाफदेहितासहित थप प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।