images

‘एक्सन प्लान’ बनाएर बजार अनुगमन गर्नु, सडकका खाल्डाखुल्डी पनि पुर्नू : मुख्यसचिव

काठमाडौँ – मुख्यसचिव एकनारायण अर्यालले ‘एक्सन प्लान’ बनाएर बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

चाडपर्वका बेलामा खाद्यान्नमा मिसावट हुने, मूल्य वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै उनले यस्तो निर्देशन दिएका हुन्। शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले चाडपर्व शुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट शुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिए।

उनले स्थानीय तहसँग समन्वय गरेर कुनै पनि हिसाबमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे।

उनले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न अनुरोध गर्दै जनतालाई सुशासन दिनुपर्ने, अपराध नियन्त्रण र चाडपर्व र नेपालीहरू निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्ने कुरा सरकारलाई सह्य नहुने बताए।

उनले सडकलाई खाल्डाखुल्डीरहित बनाउन, पहिरो पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापनाभन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन पनि निर्देशन दिए।