काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेस्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा भएको उनले बताए ।
नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभई खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए । उनले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सराहना गरे ।