images

‘मोहम्मद डे’ ले मुस्लिम बस्तीमा चहलपहल

महोत्तरी, ३० भदौ – इस्लाम धर्म प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन मनाउन महोत्तरीका गाउँनगर बस्तीमा चहलपहल बढेको छ ।

‘मोहम्मद डे’ भनिने पर्व नेपालमा भदौ ३१ गते मनाइँदैछ । धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको इस्लामिक पात्रो हिजरी सम्वत् परम्पराको रवि उल अव्वल महिनाको १२ तारिखका दिन जन्म भएको मानिन्छ । यसअनुसार यसपाली सो दिन भोलि सोमबारपर्ने हुँदा यहाँका मुस्लिम बस्ती पर्वको चहलपहलमा छन् । यसपालि हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाइँदैछ । इस्लाम परम्परामा ‘मोहम्मद डे’ महत्वपूर्ण मानिन्छ ।

इस्लाम (मुस्लिम) धर्मावलम्बी यो पर्व साताव्यापी मनाउँछन् । महोत्तरीका मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै भिलिमिली बत्ती जडान गरिएका छन् । जिल्लाका १५ वटै (सबै) स्थानीयतहमा धेरैथोरै बसोबास भए पनि जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांस बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् । यी बस्तीमा ‘मोहम्मद डे’ पर्वको अहिले खास उल्लास देखिँदो छ ।

पर्वको मुख्य दिन भोलि बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गर्दैछन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश हुने भङ्ेगाहा–८ का वडाध्यक्ष मोहम्मद शरीफ राइन बताउनुहुन्छ । पर्वमा एकाबिहानै नुहाएर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् ।

ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ । पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्यपक्ष भएका भङगाहा–४ का बासिन्दा कुरानका अध्येता ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउनुहुन्छ ।

‘मोहम्मद डे’ पर्वका लागि मधेस प्रदेश सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ । रासस