रोमानीयामा औपचारिक तवरले श्रमिक पठाउन श्रम मन्त्री भण्डारी र रोमानीयाको राजदुत बीच भेटवार्ता

 

नेपालको लागि रोमानीयाको राजदुत डानियला सेजोनोभ तानले नेपाल र रोमानीया बीच भएको श्रम सम्झौताको कार्यान्वयन तथा विभिन्न एजेन्टहरुबाट भएका ठगी नियन्त्रणका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसंग शिष्टाचार भेटवार्ता गर्नु भएको छ। भेटवार्ताका सम्बन्धमा सन् २०२४ जनवरी देखी रोमानीयामा करिब १९ हजार भन्दा बढि नेपालीलाई श्रमिक भिषा उपलव्ध गराइएको जानकारी दिनु भएको मन्त्रालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

नेपाल सरकार र रोमानीया सरकार बीच गत वर्ष असोजमा श्रम सम्झौता कार्यान्वयन भए पनि श्रमिक औपचारिक तवरले रोमानीयामा जान सकेका छैनन् । एजेन्टहरुले विभिन्न प्रलोभन देखाएर श्रमिकलाई अनौपचारिक तवरले रोमानीयामा पठाउने गरेको र सो कार्यका लागि ठूलो रकम अशुल गरिरहेका छन्।  

राजदुत सेजोनोभ तान समेत विभिन्न एजेन्टहरुले फर्जी भिषा देखाउने,  भिषा आवेदनमा समेत फर्जी इन्सुरेन्स डकुमेन्ट राख्ने गरेको विषयमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनु भएको छ।  द्विपक्षीय समझदारी पत्रलाई व्यवस्थापन गराउने प्रोटोकल डकुमेन्ट निर्माण गर्न बाँकी रहेको र यसको लागि मागपत्र प्रमाणीकरण लगायत भिषा आवदेन प्रक्रियालाई के कसरी लाई सरलिकृत गर्न सकिन्छ भन्ने सम्बन्धमा गृहकार्य गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

युरोपमा ग्लोबल कम्प्याक्ट अन माइग्रेसनको सिफारिस  बमोजिम नै युरोपमा श्रमिकको मानव अधिकार रहेको अवस्थामा नेपाली श्रमिकलाई औपचारिक तवरले रोमानीयामा पठाउन, ठगी नियन्त्रण गर्न तथा मागपत्र प्रमाणीकरणलाई सरलिकृत गराउने सम्बन्धमा संयुक्त प्राविधिक समितिबाट टुङ्गो लगाइने जानकारी मन्त्रालयबाट जारी विज्ञप्तीमा रहेको छ।