अमेरिका, क्यानडा र कतारको १९ दिने भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा तीन देशको १९ दिने भ्रमणमा जाँदै छिन्। उनी अमेरिका, क्यानडा र कतार भ्रमणका लागि आज (सोमबार) साँझ प्रस्थान गर्दै छिन्।

परराष्ट्र मन्त्रालयका अनुसार सबैभन्दा पहिले मन्त्री राणा क्यानडा पुग्नेछिन्।  उनी क्यानडाको टोरन्टोमा असोज ३ र ४ गते हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुनेछिन्।

बैठक क्यानडा र जमैका सरकारको सह–आयोजनामा हुन लागेको हो। परराष्ट्रमन्त्री राणाले उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि परराष्ट्रमन्त्री राणा क्यानडाबाटै असोज ५ गते अमेरिकाको न्युयोर्क जानेछिन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। सोही प्रतिनिधिमण्डलको सदस्यका रूपमा परराष्ट्रमन्त्री राणा सामेल हुनेछिन्।

राष्ट्रसंघको महासभामा सहभागी भएपछि न्युयोर्कबाटै परराष्ट्रमन्त्री राणा कतार पुग्नेछिन्। असोज १६ र १७ गते कतारको दोहामा आयोजना हुने एसिया कोअप्रेसन डायलगको तेस्रो शिखर सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम छ। परराष्ट्रमन्त्री राणा असोज १८ गते स्वदेश फर्कनेछिन्।