अहिलेको सरकार आएपछि व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएको छन् ।

उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए।

‘‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’’ धनगढी उपमहानगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा मङ्गलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने ।

उनले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिए । साथै उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गरे।

‘‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भास्य बनाउन खोजिँदैछ, तर त्यस्तो होइन,’’ उनले भे, ‘‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौं न, परिवर्तन त भएका छन् नि ।’’