काठमाडौँ – नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजिष्ट (नेस्मो)को अध्यक्षमा वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. सुदीप श्रेष्ठ निर्वाचित भएका छन्। हालै सम्पन्न नेस्मोको दोस्रो अधिवेशनले नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्ष समेत रहेका डा. श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
त्यसरी निर्वाचित हुने अन्य पदाधिकारी तथा सदस्यहरूमा डा. रोशन प्रजापति उपाध्यक्ष, डा. अजय झा सचिव र डा. सुस्मिता शर्मा कोषाध्यक्ष रहेका छन्। यसैगरी सदस्यहरूमा डा. राजीव देव, डा. सचिन शाक्य, डा. रमिला शिल्पाकार डंगोल, डा. लिजा कोशिन र डा. विवेक कँडेल रहेका छन्।
नेस्मो गैरनाफामूलक सामाजिक संस्थाले आफ्नो स्थापना कालदेखि नै क्यान्सर क्षेत्रमा काम गर्दै आएको छ। क्यान्सर क्षेत्रका पेशाकर्मी चिकित्सकहरूलाई एकताबद्ध गर्दै देशमा क्यान्सरको विद्यमान समस्यालाई समन्वय एवं सहकार्यको साथ समाधान गर्ने यो संस्थाले विगतमा क्यान्सरको उपचारमा आउने गरेको औषधि व्यवस्थापनको विषम पक्षहरूमा सरकारसँग निरन्तर संवाद गरेको छ। उपचारलाई अझ वैज्ञानिक एवं समय सान्दर्भिक बनाउन राष्ट़िय एवं अन्ताराष्ट्रिय स्तरमामा हुने गरेको सभा सम्मेलनमा आफ्नो अनुसन्धानलाई साझा गर्दै आएको छ।
क्यान्सर विधाका क्लिनिकल चिकित्सकहरूको यो संगठनमा मेडिकल अंकोलोजी, पेडियाट्रिक‚ अंकोलोजी एवं हेमाटोलोजीमा दीक्षित भएर नेपाल मेडिकल काउन्सिलमा रजिष्टर्ड विज्ञ चिकित्सकहरू यो सोसाइटीका पदाधिकारी एवं सदस्यहरू छन्। अहिले नेस्मोमा ४० जनाभन्दा बढी सदस्य रहेका छन्।