काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना बनिसकेकाले अब हट्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘प्रदेश संरचना र सरकार बनिसक्यो । यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ जबाफदेही बनाउने भन्ने कुरा सोच्नुपर्छ र सुधार गर्नुपर्छ ।’
उनले प्रजातन्त्रलाई अझै मतबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने बताएका छन् । गएको असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संविधान संशोधनलगायत विषयमा सात बुँदे सहमति भएकोतर्फ लक्षित गर्दै सभापति देउवाले लोकतन्त्र बलियो बनाउने गरी संविधानमा सुधार गर्न सकिने बताएका हुन् ।
‘ओलीजी प्रधानमन्त्री हुँदा उहाँले संविधान संशोधन गर्नसक्ने कुरा भन्नुभएको छ। त्यो प्रजातन्त्रको खिलाफमा होइन‚ प्रजातन्त्रलाई अझ मजबुत बनाउने गरी संविधानमा सुधार‚ संशोधन हुने कुरा हुन सक्दछ‚’ उनले भने, ‘एमाले हामीसँग प्रजातन्त्रका लागि लडेको पार्टी हो। हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो। त्यसैले प्रजातन्त्रको खिलाफ कुनै पनि काम हुन सक्ने छैन।’
प्रदेश संरचना उत्तरदायी र पारदर्शी बनाउनुपर्ने
विचार गोष्ठीमा सभापति देउवाले प्रदेश संरचना नहट्ने बरु यसलाई अझै उत्तरदायी र पारदर्शी बनाउनुपर्ने पनि बताएका छन्।
प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका वेला उनले बनिसकेको प्रदेश संरचना हटाउन सक्ने अवस्था नभएको धारणा राखेका छन्। उनले प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार्नुपर्ने बताए।
‘केही कुरा अहिले यहाँ उठेको छ, साथीहरुले उठाउनुभएको छ- प्रदेश सरकारको सम्बन्धमा। प्रदेश संरचना बनिसकेको छ‚ यो संरचना हट्ने कुरा छैन‚ हटाउन सक्ने स्थिति पनि छैन‚’ उनले भने, ‘यसलाई कसरी अझ उत्तरदायी बनाउने, कसरी अझ बढी एकाउन्टेबल बनाउनेदेखि लिएर त्यो अनुरुप यसमा सुधार गर्ने कुराहरु हुन सक्दछ।’
सभापति देउवाले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने बताए।
महिला, दलित, आदिवासी, जनजातिलगायत समुदायलाई शासन प्रणालीमा सहभागी गराउन र राज्यको शासन प्रणालीमा अपनत्व महशुस गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै आवश्यक भएको उनले बताए।