गणेशमानमा त्यागको भावना थियो, अहिले कुर्सीको लागि होडबाजी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशनमान सिंहले जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउन गणेशमान सिंहको योगदान अविस्मरणीय रहेको बताएका छन् । नेपाली कांग्रेसका नेता एवं वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको २७ औँ स्मृति दिवसको अवसरमा  बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा उनको शालिकमा माल्यार्पण गर्दै गणेशमानका छोरा समेत रहेका सिंहले देश र जनताको लागि गणेशमानले सबै कुरा त्याग गरेको बताए ।

सिंहले गरेको त्यागलाई सबैले स्मरण गरेर त्यही अनुसारको व्यवहार  गर्न सक्नु पर्ने सिंहले बताए । गणेशमानले प्रधानमन्त्री बन्न राजाले गरेको अफर समेत अस्वीकार गरेको उनले स्मरण गराए । पदको लागि मरिमेट्नेहरूले उनीबाट पाठ सिक्नु पर्ने सिंहको धारणा छ । ‘कुर्सीको लागि होडबाजी गरेको हामी देख्छौं’, सिंहले भने ।

गणेशमानले लोकतन्त्रको लागि धेरै दुःख कष्ट खेप्नु भएको भए पनि त्यसको लागि केही पनि नखोज्नु भएको उनले बताए । ‘उहाँको ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्षभन्दा बढी समय जेल जीवनमा बिताउनु भयो, हरेक राजाको कार्यकालमा उहाँले जेल जीवन बिताउनु भएको हो, देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउन, जनताको अधिकारको सुनिश्चितता गराउनको लागि उहाँको प्रतिबद्धता, समर्पणलाई आज स्मरण गर्न चाहन्छौं’, सिंहले भने ।

आफू प्रधानमन्त्री बन्न होइन सार्वभौमसत्ता सम्पन्न जनता बनाउन आफू लडेको भने गणेशमानले राजालाई भन्नुले उनको कति समर्पण र त्याग थियो भन्ने कुरा अनुमान गर्न सकिने सिंहले बताए । नेपाली राजनीतिका सर्वमान्य नेता तथा लौह पुरुषको उपमाले परिचित नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो । सिंहकै समन्वयमा नेपाली कांग्रेस र बाममोर्चाको संयुक्त जनआन्दालेतबाट २०४६ सालमा निरङ्कुश राजतन्त्र अन्त्य भएर प्रजातन्त्र पुनर्स्थापना भएको थियो ।