सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ : मन्त्री दाहाल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन्। बुधबार मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिटै निर्णय लिने बताए। उनले इन्धनको मूल्य घटबढ भए अनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल भइरहेको बताए। उनले सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरुलाई निर्देशन दिए। उनले सवारी चालक अनुमतिबारे ड्यु रहेका करिब २१ लाख लाइसेन्स संघ सरकारले नै छापेर दिने र बाँकी प्रदेश सरकारले गर्ने बताए। उनले लाइसेन्सको समस्या समाधानका लागि कोशी प्रदेश सरकारले अस्थायी कार्डको व्यवस्था गरी काम शुरु गरिसकेको भन्दै अन्य प्रदेशमा तत्कालका लागि अस्थायी कार्डको व्यवस्था गर्नेगरी सरकार अघि बढिरहेको बताए।

भौतिकमन्त्री दाहालले बढीभन्दा बढी यात्रुलाई सुविधायुक्त ढंगले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताए।