images
images

पशुपतिमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय गलत : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताउनुभएको छ ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद दाहालले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दा माथि रहेको बताउनुभयो । उहाँले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उहाँको दाबी छ ।

सांसद दाहालले जलहरीको विषयमा निष्पक्षता कामय गरी अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाँले जलहरी राख्नुको ध्येय स्वर्णाक्षरमा आफ्नो नाम लेखाउनु रहेको बताउनुभयो । जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने बताउनुभयो ।

सांसद दाहालले जलहरी बनाउन दाताहरुले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरुको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राख्नुभयो ।