वाणिज्य बैंकहरुले दिए साढे ७१ अर्ब सेयर धितो कर्जा, कुनबाट कति ?

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनसम्ममा १९ वटा वाणिज्य बैंकहरुले साढे ७१ अर्ब रकम सेयर धितो कर्जामा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुले सो अवधिसम्ममा ७१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बढी सेयर धितो कर्जा दिएका छन् ।

गत आव असार मसान्तसम्म वाणिज्य बैंकहरुले ७० अर्ब ३४ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो । चालु आवको पहिलो महिनामै वाणिज्य बैंकहरुले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो ।
साउनसम्म सबैभन्दा बढी सेयर लोन प्रवाह गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । नबिलबाट १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ सेयर लोन गएको छ । त्यसै गरी, सबैभन्दा धेरै सेयर लोन प्रवाह गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।

बैंकले साउनसम्म ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा नेपाल बैंक रहेको छ । बैंकले ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

यसै गरी, साउनसम्म सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख रुपैयाँ, कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ४ अर्ब ८४ करोड ११ लाख रुपैयाँ र प्राइम बैंकबाट ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सेयर लोन प्रदान गरेका छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ, प्रभु बैंकबाट २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

हिमालयन बैंकबाट १ करोड ९१ लाख ९५ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ५७ करोड १ लाख रुपैयाँ, सानिमा बैंकबाट १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ५१ करोड २४ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४२ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।