काठमाडौं– नेकपा माओवादी केन्द्रले अहिलेको भू-राजनीतिक अवस्था थप जटिल बन्दै गइरहेको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताए।
उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दैछ। भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विष्फोटक स्थिति बनेको छ। यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ। जन वर्गीय संगठनहरुलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ।’
उनले बैठकमा देशैभरि बढेको अराजकता, विकृति, विसङ्गति बढेको निष्कर्ष निकालेको पनि सुनाए।