हेम-सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार विजेता पत्रकारको नाम घोषणा

काठमाडौं- यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार युद्धग्रस्त मुलुक इजरायलमा पुगेर स्थलगत रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनको समाचार टोली र दार्चुलाको दुर्गम अपि हिमाल क्षेत्रमा पुगेर रिपोर्टिङ गर्ने एनटिभी कोहलपुरको टोलीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

पुरस्कार विजेता छनोट समितिको हिजो बसेको बैठकले विभिन्न टेलिभिजन च्यानलहरुबाट प्राप्त हुन आएका कुल २२ वटा समाचार सामग्रीमध्येबाट पुरस्कृत सामग्री र पत्रकार छनोट गरेको हो ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको एक लाख रुपैया राशिको पुरस्कारबाट इजरायल हमास युद्धको स्थलगत रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनका क्यामरापर्सन श्याम श्रेष्ठ र प्रकाश तिमिल्सिना तथा रिपोर्टर होम कार्की एवम् एनटिभी कोहलपुरका रिपोर्टर दुर्गा भट्ट र क्यामरापर्सन विपिन श्रीवास्तवलाई पुरस्कृत गर्ने पुरस्कार छनोट समितिले निर्णय गरेको प्रतिष्ठान शाखाले जनाएको छ ।

वरिष्ठ पत्रकार एवम् राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र वरिष्ठ सञ्चारविद् मन्टेश्वरी राजभण्डारी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पा राई एवम् प्रतिष्ठान शाखाका अध्यक्ष दीपक जंग हमाल सदस्य रहेको ६ सदस्यीय पुरस्कार छनोट समितिले प्राप्त समाचार सामग्रीहरु मध्येबाट विजेताको छनोट गरेको हो ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख रुपैंया राशीको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि प्रत्येक वर्ष असोज ७ गते साहसिक पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिंदै आएको छ ।

पुरस्कृत भएका पत्रकारहरुलाई यही असोज ७ गते सोमबार नेपाल टेलिभिजनमा विशेष समारोहको आयोजना गरी पुरस्कार सहित सम्मान प्रदान गरिने नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले जनाएको छ ।