प्रधानमन्त्री ओली न्यूयोर्कमा, भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुने

न्युयोर्क- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क आइपुगेका छन्। उनी संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार शुक्रबार राति न्यूयोर्क आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ।

यसैबीच प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटघाट हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख  साँझ ५:३० बजे प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेको छ।

प्रधानमन्त्री ओलीले नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन्। यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन्।