प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ- प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा प्रचण्डले  प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डालाई  प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे।

वर्तमान संविधानमार्फत जनताले पाएका अधिकार  केही शक्तिलाई मन नपरेको  टिप्पणी गर्दै उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए। उनले भने, ‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिबिना गर्न खोजिने संविधान संशोधनको प्रयासप्रति माओवादी केन्द्रको सहमति छैन। हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने अधिकार कसैलाई छैन।’

इमान्दर भएर संविधान संशोधनको प्रयास भएमा आफूहरु त्यसका लागि तयार हुने पनि उनले स्पष्ट पारे। अग्रगमनमा लागि संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई नै भएको उनको दाबी थियो।

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक भएको उनले बताए। ‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो,’ उनले भने, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा १० करोड र सङ्घमा ५० करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउनेतर्फ लागेको देखियो। भ्रष्टाचारको मुहान सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ।’

करोडौँ खर्च गरेर सांसद र मन्त्री बन्ने अभ्यासप्रति विमति जनाउँदै प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरु कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्र भ्रष्टाचार रोक्न सकिने बताए।