विश्वप्रकाश शर्मा भन्छन्- सहकारी ठगीमा दोषी देखिए धनराज गुरुङ जेल जानुहुन्छ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा दोषी देखिए पार्टीका उपसभापति धनराज गुरुङ जेल जाने बताएका छन्। सहकारी ठगी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन सुरु भइसकेको समेत उनले बताए।

नेपाली कांग्रेस झापा-काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न नै हुँदैन भन्ने पक्षमा नरहेको उनको भनाइ थियो।

‘उहाँमाथि छानबिन सुरु भएको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन। सीआईबीले छानबिन गरिरहेको छ। निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन् । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ,’ उनले भने।

पूर्व कानुन मन्त्री समेत रहेका कांग्रेस उपसभापति एवं प्रतिनिधि सभा सदस्य गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएपछि उनीमाथि छानबिन सुरु भएको छ।