काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित : देउवा

काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको दावी गरेका छन्।

सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका वेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको सभापति देउवाको दाबी थियो। शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए।

सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। काँग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले भने, ‘एमाले र काँग्रेस दुईवटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हुन्। मैले थाहा पाएअनुसार नेपाली जनता खुशी भएका छन्। कति कचकच गर्ने, दुईवटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ। त्यसकारण दुईवटा पार्टी मिलेर देशभर सकारात्मक सन्देश दिएको छ। काँग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ। यसै काममा लाग्नका लागि म सबै साथीभाइलाई आग्रह गर्न चाहन्छु।’

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी काँग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए।