कांग्रेसले युवालाई नेतृत्वमा ल्याउनुपर्छ: डा कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीको नेतृत्वमा युवालाई ल्याउनेपर्ने बताएका छन्। कांग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ थियो।

काभ्रेको धुलिखेलमा शनिबार बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। शेरबहादुर देउवा सदाबहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने उनको भनाइ थियो।

बीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने उनले बताए।

‘६० प्रतिशत जनसंख्या ४० वर्षमुनिको छ। तर नेताहरूले कहिल्यै तिनीहरूलाई सम्बोधन गरेनन्। सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरे। हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौँ। जहिले पनि बुढाहरु नै मन्त्री बन्छन्। युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन्। मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौँ हामी? भोलिको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो। शेरबहादुरजी सदाबहार यहाँ पार्टी सभापति हुनुहुन्न। अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुपर्‍यो। उनीहरूलाई अगाडि बढाउनु पर्‍यो। हामी त छौँ तर कति दिन छौँ?,’ उनले भने।

बीपी कोइरालाको उदाहरण दिँदै कोइरालाले भने, ‘हामी आज छौँ, भोलि हुँदैनौँ। त्यसैले अलिपर सोच्नुपर्‍यो। आफ्नो सन्ततिलाई दिनु पर्‍यो। बीपी कोइरालाले हेर्नुस्–उहाँले के सबै आफ्नो लागि मात्रै गर्नुभयो? उहाँले सभापति हुँदाहुँदै राजीनामा दिएर किसुनजीलाई सभापति बनाउनुभयो।’