रवि लामिछानेको प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔं, प्रदेशसभा खारेज गरौं (पूर्णपाठ)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापतिको तर्फबाट राजनीतिक दस्तावेज पेस गर्दै लामिछानेले प्रदेश संरचना खारेज गर्ने प्रस्ताव पनि गरेका छन् ।

प्रतिवेदनमा गैरदलीय राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने व्यवस्था गरिएको छ । रविले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, योग्य र विषय विज्ञहरूबाट मन्त्री छनोट गरेर सरकार बनाउने प्रस्ताव पनि प्रतिवेदनमा गरेका छन् ।

राजनीतिक प्रस्तावमा पूर्ण समानुपातिक निर्वाचनको पक्षमा उभिने नीति पनि पार्टीले लिने उल्लेख छ । सभापति लामिछानेले संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभालाई गैरदलीय विद्वान सभा बनाउने प्रस्ताव गरेका छन् ।

स्थानीय तहका प्रमुखहरू रहेको विधायीकाबाट कानुन बनाउने प्रस्ताव पनि उनले पहिलो राष्ट्रिय सम्मेलनमा गरेका छन् ।