उपलब्धिको रक्षा गर्ने गरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँः नारायणकाजी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई कुनै पनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।

सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताए।

उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरी र अहिलेका अनुभवका आधारमा हुनुपर्नेमा जोड दिए। उनले सबै सहमत भएको अन्तरवस्तु तर बुँदाहरु, धाराहरु मिलाउँदा नमिलेको कुराहरुमा अहिले सहमति जुटाउन सकिने बताए। उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्याय थप्ने गरी अघि बढ्नुपर्ने बताए।

वर्तमान सरकार बन्ने प्रसंगसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको उनको भनाइ थियो। उनले समावेशी, समानुपातिक पक्षहरुमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरुले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको उल्लेख गरे।

उनले उपलब्धिको रक्षा गर्न नेपाली समाज र जनताको आवश्यकता र अपेक्षाअनुसार संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिए।