काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगीमा मुछिएका पार्टी सभापति रवि लामिछानेको बचाऊ नगर्न आग्रह गरेका छन् ।
आज (सोमबार) सामाजिक सञ्जालमा लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनु पर्ने बताएका हुन् । आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा लामिछाने बसेको भन्दै उनले तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई ढकालले अनुरोध गरेका छन् ।
‘प्रिय रास्वपा मित्रहरु ! हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन । बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।’
ढकालले फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइ दिनुस् ताकी कानुनभन्दा माथि कोही हुनु हुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जोसुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनु हुँदैन, गर्नु हुँदैन ।’
लामिछानेमाथि सहकारीको अरबौं रकम अपचलन गरेको आरोप छ । सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ ।