जापानमा नेपाली श्रमिकको प्रशंसा

काठमाडौँ, असोज ८ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा हुन सक्ने अवसर त्यहाँ सरकारका मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।

जापान भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले जापानका संसदीय उपमन्त्री एवं भूमि, पूर्वाधार, यातायात तथा पर्यटनमन्त्री इसिबासी रिन्तारो, स्वास्थ्य, श्रम र कल्याणमन्त्री ट्याकमी जाइरोलगायतसँग भएको भेटमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

जापानमा नेपाली श्रमिकलाई जापानी श्रम बजारका सम्भावित क्षेत्रहरू पहिचान गर्ने र सरल तथा सहज तरिकाबाट नेपाली श्रमिकलाई जापानमा कसरी अवसर दिन सकिन्छ ? लगायतका विषयमा मन्त्री भण्डारीले छलफल गर्नुभयो । जापान संसदीय उपमन्त्री इसिबासी रिन्तारोले नेपाली श्रमिक मेहनती र इमानदार भएकाले निर्माण, पानीजहाज, यातायात र उत्पादन क्षेत्रमा ल्याउन सकिने बताउँदै उहाँले यसमा आफूले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री भण्डारीले जापान सरकारका स्वास्थ्य, श्रम र कल्याणमन्त्री टेकमी जाइरोसँगको भेटमा नेपाल र जापान सरकारबिच सन् २०१९ मा नेपालबाट श्रमिक पठाउने विषयमा भएको सम्झौताबारेमा थप छलफल गरी परिष्कृत तथा श्रमिकको हितमा थप अनुकूल बनाउने बताउनुभयो । नेपालबाट जापानमा नेपाली श्रमिक पठाउन विशेष सिप भएका श्रमिक (एसएसडब्लु) को कार्यविधि स्वीकृत भई कार्यान्वयनमा आइसकेको बताउँदै मन्त्री भण्डारीले इजाजतपत्र लिएका संस्था वैदेशिक रोजगार विभागमा सूचीकृत भएपछि तथा नेपाली दूतावास टोकियोले मागपत्र प्रमाणीकरण गरे मात्र नेपाली श्रमिक जापान जान सकिने त्यहाँ श्रममन्त्रीसमक्ष कुरा राख्नुभयो ।

यसै क्रममा नेपाल र जापानबिच सामाजिक सुरक्षाको विषयमा द्विपक्षीय सम्झौता गरी सहकार्य गर्न गृहकार्य गर्ने समझदारी भएको छ । जापानमा रहेको श्रमिक अभाव र नेपाली श्रमिकको उपलब्धतालाई ध्यानमा राखी द्विपक्षीय सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

एसएसडब्लु श्रमिक लैजाने विषयमा नेपालले ल्याएको कार्यविधिको स्वागत गर्दै जापानी श्रममन्त्री जाइरोले नेपालसँग द्विपक्षीय सहकार्य गर्ने विषयमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस किसिमको द्विपक्षीय भेटले नेपालमा रहेको बेरोजगारीको समस्या तत्कालका लागि व्यवस्थापनमा टेवा पुग्ने र जापानी श्रम बजारमा रहेको श्रमिक अभावमा योगदान हुने द्विपक्षीय विश्वास व्यक्त गरियो । भेटमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए ।