images

विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट

बाजुरा, ८ असोज – जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ ।

सोमबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले आजदेखि लागू हुनेगरी नगरपालिकाभित्रका विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न बिरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सेवाबाहेक अन्य सेवाबाट लिइने शुल्कको २० प्रतिशत छुट दिने निर्णय भएको अस्पतालले जनाएको छ ।

नगरपालिकाभित्र रहेको विपन्न र आर्थिक अभावमा रहेका बिरामीलाई उपचारमा सहुलियत हुनेगरी एक्सरे, भिडियो एक्सरे र ल्याब परीक्षणमा २० प्रतिशत छुट गरिएको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले राससलाई जानकारी दिनुभयो । नगरपालिकाबाहेक सो अस्पतालमा अन्य पालिका र छिमेकी जिल्ला मुगु तथा हुम्लाबाट पनि बिरामी आउने गरेका छन् ।

उक्त क्षेत्रबाट आधारभूत अस्पताललाई सहयोग नहुने भएकाले नगरका नागरिकका लागि मात्र उक्त सेवामा छुट गरिएको सूचना अधिकारी नेपालीले बताउनुभयो । उहाँले नगर क्षेत्रभित्र रहेका कतिपय नागरिकको उपचार गराउन आउँदा आर्थिक अभाव हुने हुँदा उपचारमा लाग्ने २० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी छुट गरिएको नगर प्रमुख जनककुमार बोहराले बताउनुभयो ।