रवि जोडिएको सहकारी ठगीको अनुसन्धान गरिरहेको कास्की प्रहरीका हाकिम फेरिए, को हुन् एसपी ओलिया ?

काठमाडौं – सूर्यदर्शन सहकारीको रकम अपचलनमा गोरखा मिडिया नेटवर्कका सञ्चालकलाई अनुसन्धानमा तानेको तेस्रो दिनमा कास्की प्रहरीका हाकिम फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयले श्याम ओलियालाई कास्की प्रहरीको नेतृत्व सुम्पिएको छ। प्रहरी प्रधान कार्यालयले एसपीहरूको सरुवा गर्दा ओलियाले कास्कीको नेतृत्व गर्ने अवसर पाएका हुन्। एक वर्षयता मोहन थापाले कास्की प्रहरीको नेतृत्व सम्हाल्दै आएका थिए।

थापाकै पालामा सहकारी ठगीमा रविको संलग्नतालाई लिएर कारबाही गर्न दबाब बढेको थियो। तर रविविरुद्ध प्रमाण नरहेको दाबी एसपी थापाको थियो। थापा नेपाल प्रहरीमा कानुनबारे राम्रो जानकारी राख्ने अधिकृत मानिन्छन्। उनले यसअघि काठमाडौं प्रहरी परिसरको पनि मुद्दा शाखाको कमान्ड सम्हालेका थिए।

संसदीय विशेष छानबिन समितिले सहकारीको बचत अपचलनमा गोरखा मिडिया नेटवर्कका सञ्चालक र प्रबन्ध निर्देशकसहित ४ जनालाई कारबाहीका लागि सिफारिस गरेपछि कास्की प्रहरीले तीन दिनअघि पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको थियो। जोशी गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य हुन्।
अब यो प्रकरणको बाँकी अनुसन्धान ओलिया नेतृत्वको कास्की प्रहरीले गर्ने छ। आर्थिक अपराध अनुसन्धानमा ओलियाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पिलर सम्हालेका थिए। त्यसपछि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर पनि काम गरेका थिए। उनी अख्तियारमै रहेका बेला एसपी बढुवा भएका हुन् । आफ्नो भर्ना ब्याचबाट तेस्रो लटमा उनी एसपीमा बढुवा भएका थिए ।

लमजुङ स्थायी घर भएका ओलियाको एसपीका रूपमा यो पहिलो इन्चार्ज जिम्मेवारी हो। उनी हाल प्रहरी एकेडेमीमा कार्यरत थिए। कास्की प्रहरीले जोशीलाई ठगी र संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। यी कसुरमा जोशी ६० दिनसम्म प्रहरी हिरासतमा रहन सक्नेछन्।

सम्पत्ति शुद्धीकरणसमेत अभियोग लागे प्रहरीले ९० दिनसम्म हिरासतमा राख्न सक्ने छ। यहीबीचमा सरकारले छविलाई पक्राउ गरेर उनको बयानका आधारमा आफूलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको आशंका पूर्व गृहमन्त्रीसमेत रहेका रविको छ।

मङ्गलवार साँझ फेसबुक लाइभमा आएर उनले सहकारी ठगीमा आफ्नो कुनै भूमिका नरहेको छानबिन समितिले नै स्पष्ट पारेको र ठगीबाट कम्पनीमा आएको रकमको हकमा आफूले कानुन अनुसारको जिम्मेवारी लिने बताएका थिए।