पर्यटन प्रवद्र्धक जर्ज नेपालको सदभावनादूत नियुक्त

काठमाडौँ, १० असोज – विश्वका विभिन्न मुलुकबाट चीनमा पर्यटक भित्र्याउने अभियानमा सक्रिय पर्यटन प्रवद्र्धक प्रोफेसर वोल्फगाङ जर्ज अलर्ट प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सद्भावनादूत र विशेषज्ञ सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युटका संस्थापक जर्जलाई चीनका लागि सद्भावनादूत र विशेषज्ञ सल्लाहकारका रूपमा नियुक्त गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । नेपालका लागि चीनको महत्वपूर्ण आउटबाउन्ड पर्यटन सम्भाव्यताको कदरस्वरुप, पाटा नेपाल च्याप्टरको हालैको कार्यकारी समितिको बैठकले प्रो जर्जलाई उक्त मानार्थ पद प्रदान गरेको हो ।

जर्जलाई सद्भावनादूतको रुपमा घोषणा गर्न पाउँदा आफूहरु हर्षित भएको र यसले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन मद्दत पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले बताउनुभयो । उहाँले भन्नुभयो, “जर्जको क्षमता, ज्ञान, व्यापक नेटवर्क तथा दशकौँ लामो विशेषज्ञताले नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ र हाम्रो पर्यटन प्रवर्द्धन तथा अनुसन्धान पहललाई अगाडि बढाउन भूमिका खेल्नेछ ।”

प्रो जर्जले चीनलगायत विश्वका विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन भूमिका खेल्ने अध्यक्ष लकाईले विश्वास व्यक्त गर्नुभयो । “नेपाल आकर्षक प्राकृतिक सौन्दर्य, विविध सांस्कृतिक आकर्षण र न्यानो आतिथ्यको गन्तव्य हो”, उहाँले भन्नुभयो, “यसले चीन र विश्वभरका आगन्तुकहरूको लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।”

जर्जले सन् १९७८ मा चीनको पहिलो भ्रमण गर्नुभएको थियो । उदार र खुला नीतिका कारण चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा विकास भएको छ । प्रो जर्जले टुर अपरेटरको रूपमा सुरुमा जर्मनीका पर्यटकलाई चीनमा ल्याउनुभयो । त्यसपछि जर्जले युरोपमा चिनियाँ व्यापार प्रतिनिधिमण्डलको नेतृत्व लिएर काम गर्नुभयो ।

त्यसपछि उहाँ चीन, जर्मनी, बेलायत र न्यूजील्याण्डमा अन्तर्राष्ट्रिय पर्यटन व्यवस्थापनको प्राध्यापक बनेर प्राज्ञिक भूमिका निर्वाह गर्दैआउनुभएको छ । साथै उहाँले चीनसँग सम्बन्धित धेरै सम्मेलन, मेला, प्रदर्शनी र अन्य कार्यक्रम आयोजना गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।