रवि लामिछानेमाथि प्रहार गर्नखोजे प्रतिवाद गर्ने रास्वपा नेताहरुको चेतावनी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले सभापति व्यक्ति मात्रै नभएर संस्था भएको बताए । उनले भने, ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’

कार्यवाहक प्रवक्ता मनिष झाले पनि सहकारी ठगीमा सभापतिको संलग्नता नभएको प्रतिवेदन आइसकेपछि अहिले राजनीतिक रूपमा प्रतिशोध राख्न खोजेको जिकिर गरे।

उनले भने, ‘सहकारीमा सभापतिले आफैँ व्यक्तिगत रूपमा संलग्न भएर रकम लिएको छैन भनेर प्रतिवेदनले स्पष्ट पारिसकेको छ। यो विषय हामीले तीन महिना अघि नै प्रष्ट पारिसकेका थियौँ। अहिले कानूनी प्रक्रियाले नै टुंगिएको छ। तर, कसैको राजनीति जोगाउने उद्देश्यले षड्यन्त्र हुँदैछ। कुण्ठा र इगो राखेर जान खोजिन्छ भने हामी प्रतिवाद गर्छौँ। कानूनी प्रक्रियामा सक्दा दुई तिहाइको शक्ति दुरुपयोग भए जनता पनि छन् भन्ने सरकारले बुझोस्।’

सहकारीमा डुबेको ८७ अर्ब छाडेर रवि लामिछानेको पछि लागेको भन्दै आपत्ति जनाए। उनले भ्रमण र सहकारी प्रकरण लगायतको विषयमा भोलि ४ बजे पत्रकार सम्मेलन राखेको उनले बताए।