विपद्‌मा देशभर ४९ जनाको मृत्यु, उपत्यकाका मात्रै ३२ जना

तस्वीर:नेपाल प्रहरी

काठमाडौँ- दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्।

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन । उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए। 

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।