images
images

ललिता निवास निल्न खोज्ने सबैलाई कारबाही हुन्छ: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ वर्ग पक्राउ पर्नाले कानुन सबैभन्दा माथि छ भन्ने कुरा सावित भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैमाथि कारबाही हुने बताउँदै कानुनभन्दा माथि कोही नरहेको बताएका हुन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो कारबाही भएको छ। उक्त सफल अनुसन्धानबाट कानुन र लोकतन्त्रको सर्वोच्चता स्थापित भएको छ’,  उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्न ललिता निवास प्रकरणका अभियुक्त पक्राउ पर्न थालेका छन्। यो शुद्धीकरण यत्तिमै रोकिने छैन।’

प्रधानमन्त्री दाहालले लोकतन्त्रका विकृति सच्याउन सरकार अघि बढेको बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणपछि ललिता निवास प्रकरणमा छानबिन लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणका हिस्सा रहेको उनकाे भनाइ छ।

यसका साथै उनले अब विकृतिको डुंगुर सफा गर्ने यो अभियानमा सदन र जनताको अझ ठूलो हौसला र विश्वास आवश्यक रहेको पनि बताए।