काठमाडौँ उपत्यकामा वर्षाले इतिहास रच्यो, कति पर्‍यो पानी?

काठमाडौँ – काठमाडौँ उपत्यकामा शनिवार वर्षाले ‘रेकर्ड ब्रेक’ गरेको छ। उपत्यकामा मापन सुरु भएयताकै बढी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौँमा वर्षा मापन हुन थालेपछिकै बढी वर्षा मापन भएको जनाएको छ। मौसमविद् गोविन्द झाले शनिवार काठमाडौँमा आज विहान सर्वाधिक वर्षा मापन भएको बताए।

शनिबार बिहान ८:४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ। यसअघि सन् २००२ मा १७७ मिलिमिटर मात्रै वर्षा भएको थियो। काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा मापन यसअघि भएको थिएन।

उपत्यकाका अन्य ९ मापन केन्द्रमा पनि वर्षाले रेकर्ड ब्रेक गरेको उनले बताए। ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकोमा शनिवार ३२३ मिलिमिटर वर्षा भएको छ।