दश घण्टामा दमौली-चापाघाट सञ्चालन

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिएको ठाउँ मर्मतपछि  सञ्चालनमा आएको छ । आज बिहान ७ बजे सडक भासिएपछि दमौली-चापाघाट अवरुद्ध भएकामा दश घण्टापछि साँझ ५ बजे सडक पुनः सञ्चालनमा आएको हो ।

भासिएको सडकमा ह्युमपाइप राखेपछि उक्त खण्ड सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले राससलाई जानकारी दिए। मुग्लिन पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको थियो । सडक सञ्चालन भएपछि लामो समयदेखि अलपत्र परेका सर्वसाधारण गन्तव्यमा लागेका छन् ।