झ्याप्ले खोला पहिरोमा परेका ३२ जनाको शव निकालियो, उद्धार कार्यमा लापरबाही भएको स्थानीयको आरोप

धादिङ -धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३२ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकीको आइतबार फेला परेको हो ।

स्थानीयले पहिरो शनिबार बिहान ३ बजेतिरै गएपनि खोज र उद्धारकार्यमा सरकारी पक्षबाट लापरवाही भएको आरोप लगाएका छन् । सो स्थानमा पटक पटक पहिरोको समस्या हुँदै आएको छ ।

स्थानीयबासी पुजा खत्रीका अनुसार २२ बर्ष अघि सोही स्थानबाट पहिरो खस्दा १० जनाको निधन भएको थियो । पहिरो जोखिमयुक्त क्षेत्र भएपनि सरकारले पहिरो न्युनीकरणमा खासो नदिँदा घटना दोहोरिने गरेको स्थानीयको भनाइ छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र मृतकहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।